News Detail

मोडलिङ नरोजेर निराश बनिनँ– पूर्व मिस अरोमा चितवन

चैत्र २०, २०७३

झण्डै ७ वर्ष अघि ‘यूनिक च्यानल’ मा ‘टक टु मी’ कार्यक्रम चलाउने इशाको परिचय बदलिएको छ । हुनत उनी केहि महिना अघिसम्म बेसो टेलिभिजनको ‘मनका कुरा’ कार्यक्रम चलाउँथिन् । २४ वर्षिया इशा प्रधानको घर भरतपुर महानगरपालिका क्षेत्रपुरमा छ । पहिलो ‘मिस अरोमा चितवन २०१३’ को उपाधि जितेकी इशा मोडलिङ् क्षेत्र भन्दा सामाजिक कार्यमा बढी देखा पर्छिन् । उनी आफ्नो जन्मदिन, नयाँ वर्ष, चाडबाडमा प्रायः सामाजिक अभियान लिएर अनाथ, अशक्तका सामु पुग्छिन् । उपाधि जित्नु अघि रोट¥याक्ट क्लब अफ नारायणगढको सदस्यका रुपमा रहेकी थिइन् । उपाधि जिते लगत्तै उनले धेरै अवसर पाइन् । उनी अझै चिनिन थालिन् । थुप्रै संघसंस्थाले उनलाई सम्मान गरे । हाल उनी नारायणगढ स्थित स्वस्तिक बहुउद्येश्यिय सहकारीको लेखा अधिकृतका रुपमा काम गर्छिन् । रोट¥याक्ट क्लब अफ नारायणगढको पहिलो महिला अध्यक्षका रुपमा छिन् । फुर्सद हुने वित्तिकै उनी सामाजिक अभियानका शिलशिलामा पहाडका डाँडाकाँडामा पुग्छिन् । वृद्धवृद्धा, बालबालिकासँग उनी नजिक हुन रुचाउँछिन् । “मोडलिङ क्षेत्र बारे खासै जानकारि थिएन”, विगत सम्झँदै उनले भनिन्, “टाइटल जितेपछि धेरै जिम्मेवारी पाए जस्तो लाग्यो, सामाजिक अभियानमै रमाउन थालेँ ।” उनले मिस ग्राण्ड इन्टरनेशनलमा सहभागि हुन मिस इन्टरनेशनलमा सहभागि हुने वाइल्ड कार्ड पाइन् । तर, उनी त्यहा सहभागिता जनाइनन् । चितवनमा हुने सौन्दर्य प्रतियोगितामा उनलाई निर्णायका रुपमा बोलाउन थालियो । मिस टिन चितवन, मिस लुम्बिनि, मिस माडी, मिस्टर एण्ड मिस लिटिल चितवनमा उनले प्रतिस्पर्धिका खुबी मूल्याङ्कन गर्ने अवसर पाइन् । पूर्व मिस नेपालसँगै बसेर प्रतिस्पर्धीको प्रतिभाको मापन गर्ने अवसर पनि पाइन् । यस्ता प्रतियोगितामा व्यक्तित्व, बुद्धि, प्रतिभा, र जवाफ समेतको जाँच गर्ने गरिन्छ । “जिल्ला तहमा सौन्दर्य प्रतियोगिताहरु हुनु राम्रो पक्ष हो”, उनले भनिन्, “प्रतिस्पर्धिको प्रतिभा प्रस्तुत गर्ने, जीवनशैली सुधार गर्न माध्यम बन्छन् ।” विभिन्न नाममा हुने गरेका सौन्दर्य प्रतियोगिताहरु वर्षेनी हुन नसक्नु दुखद भएको उनको भनाई छ । “सौन्दर्य प्रतियोगिताले आत्मविश्वास बढाउँछन्”, उनले भनिन्, “मोड्लिङ क्षेत्रमा मात्रै होइन सामाजिक अभियानमा लाग्न समेत उत्प्रेरित गर्छन् ।” उनी सोज टपरका रुपमा विभिन्न जिल्लामा हुने प्रतिस्पर्धामा मञ्चमा देखा पर्छिन् । “मोडलिङ क्षेत्रमा नलगेकोमा कहिल्यै निराश बनिनँ”, उनले अनुभव सुनाइन्, “धेरै क्षेत्र बुझ्ने, चिन्ने अवसर पाएँ, समाजकै लागि काम गर्नुपर्छ भन्ने सोचले लागिपरेको छु ।” उनी यो वर्ष हुन लागेको मिस एसईईका लागि चितवनबाट प्रतिस्पर्धि छनौट गर्ने कामका लागि संयोजक समेत बन्दैछिन् । उनले गायक किरण भुजेलको ‘अंगालोमा बाँधि राख्नेलाई’ बोलाको गितमा अभिनय गरिन् । चर्चित निर्देशक निकेश खड्काले उनको अभिनयलाई निखारता ल्याउन सघाए । “म्युजिक भिडियो खेल्ने, अभिनय गर्ने अवसर आइरहे”, उनले भनिन्, “करियर बनाउन लागेँ, कलाक्षेत्रमा खासै लागिनँ ।” उनी हाल एमविएस तहको पहिलो वर्षमा अध्ययनरत छिन् । उनी अध्यक्ष रहेको संस्था रोट¥याक्ट क्लब अफ नारायणगढले विभिन्न संघसंस्थाको समन्वयमा सामाजिक काम गर्दै आइरहेको छ । देवघाटमा रहेका वृद्धवृद्धालाई सहयोग, देवघाटमा सरसफाई अभियान, रक्तदान, दिवसमा हुने कार्यक्रममा सहभागिता, बालाबालिकालाई शैक्षिक सामाग्रि सहयोग गराउने कार्यमा लागिन् । धादिङ् जोगिमाराको कोस्राङमा पुसको जाडो महिनामा स्थानीय र बालाबालिकालाई न्यानो कपडा सहयोग गर्न नेतृत्वदायी भूमिका खेलिन् । “व्यक्ति वा संस्थाको सहयोग लिएर हामी सामाजिक कार्यलाई निरन्तरता दिइरहेका छौँ”, उनले भनिन्, “यूवाहरुलाई उत्प्रेरित गर्नुपर्छ, उनीहरुका भिजनबाट समाजमा केहि नयाँ काम गरेर देखाउनुपर्छ ।” उनको संस्थामा ४८ जना सदस्य छन् । ३० वर्ष उमेरसम्मका यूवाहरु रोट¥याक्ट क्लबमा र ३० वर्ष भन्दा माथिका रोटरी क्लबमा आवद्ध हुन्छन् । यो अन्तराष्ट्रिय सामाजिक संस्था हो । चितवनमा यस्ता संस्थाहरु ५÷५ वटा छन् । मेरुदण्ड पक्षघात भएका बिरामीलाई स्पाइनल पुर्नस्थापना केन्द, डायालिस सेन्टर स्थापना गराउन यी संस्था लागिपरेका छन् । दाहखानीको खेतवारी र देवघाटको गोहिटार गाउँलाई लक्षित गरि रोटरी र रोट¥याक्ट क्लबले संयुक्त रुपमा धेरै सामाजिक कार्य गरेका छन् । रोट¥याक्ट क्लब अफ नारायणगढले बृहत महिला स्वास्थ्य शिविर, पशु स्वास्थ्य शिविर गर्दैछ । “व्युटि पेजेन्टले बोल्न मात्रै सिकाउँदैन”, उनले भनिन्, “उपाधि जितेपछि समाजप्रति आफ्नो भूमिका के रहन्छ भनेर सोच्नेसम्म बनाउँछ ।” पछिल्लो समय चितवनबाट मोडलिङ क्षेत्रमा लाग्ने यूवायूवतीहरुको जमात बढेको छ । सौन्दर्य प्रतियोगिता प्रतियोगीहरुको शारीरिक सौन्दर्य केन्द्रित प्रतिस्पर्धा मात्रै नभएको उनको बुझाई छ । “अब सौन्दर्य प्रतियोगिताहरुको ब्राण्ड बन्नु जरुरी छ”, उनले भनिन्, “व्यक्तित्व विकासमा केन्द्रित गर्नुपर्छ ।” उनीमा नेतृत्व क्षमता विकास भएको छ । “सौन्दर्य प्रतियोगितालाई प्लेट फर्म बनाएर करियर बनाउँनुपर्छ”, उनले भनिन्, “सामाजिक कार्यमा प्रतिवद्ध बन्नुपर्छ ।”

प्रतिकृया दिनुहोस