News Detail

नेपालमा डिप्रेसनका रोगी बढे

चैत्र ३१, २०७३

विश्वमा जस्तै नेपालमा पनि विभिन्न कारणले उदासीनता अर्थात् डिप्रेसनका रोगी बढेको चिकित्सकले बताएका छन् । अझै पनि मानसिक समस्यालाई लुकाएर राख्ने उपचारमा नजाने कारणले गम्भीर खालका घटनामा वृद्धि भएको छ । यसबारेमा सबैले खुलेर कुरा गर्नुपर्ने त्रिवि शिक्षण अस्पतालका वरिष्ठ मनोचिकित्सक डा सरोजप्रसाद ओझा बताउँछन् । यस वर्ष विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले ‘डिप्रेसनः लेट्स टक’ अर्थात् उदासीनताबारे खुलेर कुरा गरौँ भन्ने नारालाई वार्षिक अभियानकै रुपमा अगाडि बढाएको थियो । उदासीनता कमजोरी नभई एउटा रोग भएकाले उपचार गरे निको हुने बताइएको छ । नेपालमा नौ हजार व्यक्ति उदासीनताबाट पीडित भएको जनाइएको छ । सङ्गठनको तथ्याङ्कअनुसार विश्वमा करिब तीन करोड मानिस उदासीनताबाट पीडित छन् । सन् २००५ यता दश वर्षका अवधिमा सो रोगका बिरामीको सङ्ख्या १८ प्रतिशतले वृद्धि भएको तथ्याङ्कले देखाएको छ । डा ओझाका अनुसार विश्वमा १५ वर्षदेखि २९ वर्ष उमेरका मानिसको मृत्युको प्रमुख कारण उदासीनताबाट आत्महत्या देखिएको छ । वरिष्ठ मानसिक रोग विशेषज्ञ डा कपिलदेव उपाध्याय उसदासीनताबारे बुझेर समयमै उपचार गरेमा रोग सजिलै रोकथाम गर्न सकिने बताउँछन् । उनले जीवनशैलीलाई सन्तुलन राख्ने, शारीरिक व्यायाम गर्ने र सराकारात्मक सोच राखेमा यसबाट बच्न सकिने बताए । 

प्रतिकृया दिनुहोस