News Detail

​सिन्धुपाल्चोकको जुरे पहिरोबाट प्रभावितहरु तीन वर्षदेखि अस्थायी बासमै बस्न बाध्य

साउन २५, २०७४

सिन्धुपाल्चोकको जुरे पहिरोबाट प्रभावितहरु तीन वर्षदेखि अस्थायी बासमै बस्न बाध्य भएका छन् । जुरेमा तीन वर्षअघि गएको पहिरोबाट विस्थापितहरुको पुनस्र्थापना हुन नसक्दा उनीहरु कठिन जीवनयापन गर्न बाध्य भएका हुन् । विस्थापित भएकाहरु ओरियन्ट म्याग्नेसाइट कम्पनी, लामोसाँघुको कर्मचारी आवासमा आश्रय लिइरहेका छन् । एउटै आवासमा २ देखि ३ परिवार कोचिएर बसेका छन् । त्यहाँबाट निस्कन उनीहरुलाई तिब्र दवाब छ । तर पनि अर्को विकल्प नभएका कारण आफूहरु अन्यत्र जान नसकेको बताउँछन् । २०७१ साल साउन १७ गते राति साविक माँखा गाविसको किटीनी भिर खसेर पहिरो गएपछि सुनकोशी नदी १४ घण्टा थुनिएको थियो । पहिरो पीडितको लागि जिल्ला दैवी प्रकोप उद्धार समितिको कोषमा २ करोड २५ लाख रुपैयाँ जम्मा भए पनि सो अझै वितरण हुन सकेको छैन । १ सय ४३ जनाको ज्यान गएको उक्त पहिरोमा मृतक परिवारले प्रतिव्यक्ति ४० हजार रुपैयाँ किरीया खर्च र केही खाद्यान्न बाहेक अरु केही पाउन सकेका छैनन् । जिल्ला दैवि प्रकोप उद्धार समितिले एकद्वार नीति लागु गर्ने भन्दै दाताले दिएको सबै सहयोग आफैंले संकलन गरेको थियो । तर प्राप्त खाद्यान्न, लत्ताकपडा तथा औषधीबाहेक नगद सहयोग भने अझै वितरण गर्न सकेको छैन । सरकारले पहिरो पीडितलाई पनि भूकम्पपीडित सरह सुविधा दिने निर्णय गरेको छ । भूकम्पपीडित सरह पहिलो किस्ता ५० हजार रुपैयाँ त उनीहरुले पाएका छन्, तर घर बनाउने जग्गा नभएका कारण उनीहरु थप किस्ता पाउनबाट बञ्चित हुँदै आएका छन् ।

प्रतिकृया दिनुहोस