News Detail

स्थानीय बासिन्दा जोखिम मोलेर डुंगामा महाकाली नदी वारपार गर्न बाध्य

भाद्र २५, २०७४

महाकाली नदीमाथि पुल नहुँदा बैतडीको तल्लोसोराड क्षेत्रका स्थानीय बासिन्दा जोखिम मोलेर डुंगामा महाकाली नदी वारपार गर्न बाध्य भएका छन् । भारतीय सीमासँग नजिक भएका यहाँका स्थानीय विभिन्न कामका लागि भारतीय सीमावर्ती बजारमा जाने गर्दछन् । जोखिम मोलेर उनीहरु डुंगामा महाकाली नदी वारपार गर्ने गरेको स्थानीय वीरेन्द्र महताले जानकारी दिए । बैतडीको मेलौली नगरपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकाका स्थानीयले जोखिम मोलेर डुंगामार्फत् महाकाली नदी वारपार गर्ने गरेको नागार्जुन माविका प्रधानाध्यापक महामलसिंह साउदले बताए । डुंगामार्फत् महाकाली नदी पार गर्नुपर्ने भएपनि पुल निर्माणको विषयले चर्चासम्म नपाएको साउदको भनाइ छ । दैनिक उपभोग्य सामग्रीका लागिसमेत भारतीय बजारमै जानुपर्ने भएकाले वर्षात्को समयमा निकै जोखिम हुने गरेको पञ्चेश्वर गाउँपालिका–२ का देवबहादुर चन्दले बताए ।

प्रतिकृया दिनुहोस