News Detail

​सप्तरीका राजनीतिक दलहरुमा आ–आफ्नो पार्टीको झण्डा प्रदर्शन गर्ने होडबाजी

भाद्र २७, २०७४

सप्तरीका राजनीतिक दलहरुमा आ–आफ्नो पार्टीको झण्डा प्रदर्शन गर्ने होडबाजी चलेको छ । दलहरुले एउटै घर, पसल, विद्यालय, धार्मिकस्थल र विद्युत् तथा टेलिफोनका पोलमा दर्जनाैं झण्डा राखिदिएका छन् । एउटा दलले राखेको ठाउँमा अर्को दलले पनि झण्डा राखिदिने गरेका छन् । यतिमात्र होइन एउटै गाडीमा समेत फरक–फरक दलको झण्डा फहराइरहेको दृश्यसमेत देखिन थालेको छ । चुनावी सभा र घरदैलोमा समेत स्थानीय नेता र कार्यकर्ताले झण्डाको प्रयोग अत्यधिक मात्रामा गरेको देखिन्छ । ‘एउटा दलले झण्डा राखेपछि अर्को दलले पनि झुण्ड्याइदिने गरेका छन्’, स्थानीय सिटी रिक्सा सञ्चालक विष्णुदेव यादवले भने, ‘के गर्ने एउटाले राखेपछि अर्कोलाई रोक्न गाह्रो भएको छ ।’ उनको गाडीमा तीन पार्टीको झण्डा झुण्ड्याइएको छ । स्थानीय शम्भु साहले भने, ‘सबै उम्मेदवार चिनेका व्यक्ति हुन्, रोक्यो भने सदाका लागि दुश्मनी हुन्छ, त्यसैले कसैलाई नाईंं भन्न सकिएन ।” यता स्थानीय तहको निर्वाचन नजिकिएसँगै जिल्लामा झण्डाको कारोबार ह्वात्तै बढेको छ । झण्डा प्रदर्शन गर्ने दलहरुबीच होडबाजी नै चलेपछि कपडा व्यवसायी, प्रेस व्यवसायी, टेलर्स व्यवसायी र पेन्टरलाई भ्याइनभ्याइ भएको छ ।  

प्रतिकृया दिनुहोस