News Detail

​साविक विजेता जर्मनीसँगै इंग्ल्याण्ड अर्को वर्ष रुसमा हुने विश्वकप फुटबल प्रतियोगिताका लागि छनौट

आश्विन २०, २०७४

साविक विजेता जर्मनीसँगै इंग्ल्याण्ड अर्को वर्ष रुसमा हुने विश्वकप फुटबल प्रतियोगिताका लागि छनौट भएका छन् । गएराति भएको छनौट खेलमा नर्दन आयरल्याण्डलाई ३–१ ले हराउँदै जर्मनीले विश्वकपमा आफ्नो स्थान सुरक्षित गरेको हो । खेलमा जर्मनीलाई विजयी गराउन सेबास्टियन रुडी, सान्द्रो वाग्नर र जोसुवा किमिचले एक–एक गोल गरे । गएराति भएको अर्को खेलमा स्लोभेनियालाई १–० ले हराँउदै इंग्ल्याण्डले पनि विश्वकपमा स्थान सुरक्षित गरेको छ । खेलमा इंग्ल्याण्डका कप्तान ह्यारी केनले ईन्जुरी समयमा निर्णायक गोल गर्दै टोलीको रुस यात्रा पक्का गरे । विश्वकप छनौट अन्तर्गत गएराति भएका अन्य खेलहरुमा चेक गणतन्त्रले अजरबैजानलाई २–१ ले हराँउदा नर्वेले सान मारिनोमाथि ८–० को जित निकाल्यो । यसैगरी पोल्याण्डले अर्मेनियालाई ६–१ ले, रोमानियाले काजखस्तानलाई ३–१ ले तथा डेनमार्कले मोन्टेनेग्रोलाई १–० ले हराए । स्कटल्याण्डले स्लोभाकियालाई १–० ले हराँउदा माल्टा र लिथुआनियाले १–१ गोलको बराबरी खेले । उता एसियाली समुहबाट सिरियाले विश्वकप फुटबलमा छनौट हुने सम्भावना जीवित राखेको छ । गएराति भएको पहिलो लेगको प्ले अफ् खेलमा अष्ट्रेलियासँग १–१ गोलको बराबरी खेल्दै हिंसाग्रस्त मुलुक सिरियाले विश्वकपमा छनौट हुने सम्भावना जीवित राखेको हो । दोस्रो लेगको खेल अष्ट्रेलियामा हुनेछ ।

प्रतिकृया दिनुहोस