News Detail

नवलपरासीको बर्दघाट सुस्ता पश्चिम परासी क्षेत्रमा २ वटा मतदान स्थल अति संवेदनशिल

कार्तिक २६, २०७४

आसन्न प्रदेश र प्रतिनिधी सभा निर्वाचनलागि नवलपरासीको बर्दघाट सुस्ता पश्चिम परासी क्षेत्रमा २ वटा मतदान स्थल अति संवेदनशिल रहेको जिल्ला प्रशाशन कार्यालय नवलपरासीले जनाएको छ । प्रमुख जिल्ला अधिकारी उदय बहादुर रानाले परासीका २ वटा मतदान स्थल अति संवेदनशिल र ५६ वटा मतदान स्थल संवेदनशिल रहेको बताए । बर्दघाट नगरपालिकाको एउटा र सुनवल नगरपालिकाको एउटा गरी पहाडी क्षेत्रमा पर्ने दुई वटा मतदान स्थललाई अति संवेदनशिल मतदान स्थलको रुपमा हेरिएको प्रजिअ रानाले बताए । यी दुवै मतदान स्थलमा विप्लव माओवादीको सुरक्षा चुनौती रहेको रानाकोे भनाई छ । जिल्लाको लामो भाग भारतीय सिमासंग जोडिएकाले पनि सिमा क्षेत्रका मतदान स्थललाई पनि संवेदनशिलको सूचीमा राखिएको छ । संवेदनशिल रुपमा हेरिएका ५६ वटा मतदान स्थल मध्ये धेरै जसो सिमा क्षेत्रका रहेको र केही पहाडी क्षेत्रका मतदान स्थल समेत रहेको रानाले जानकारी दिए । सिमा क्षेत्रमा खासगरि सिके राउत समूहको सुरक्षा चुनौती रहेको रानाको भनाई छ । परासी क्षेत्रका लागि १ सय २० वटा मतदान स्थल र २ सय ५७ वटा मतदात केन्द्र तय गरिएकोमा ६२ वटा मतदान स्थललाई सुरक्षाको दृष्टिकोणले सामान्य मानिएको छ । सुरक्षा चुनौतीको आधारमा अति संवेदनशिल मतदान स्थलमा ४ जना नेपाल प्रहरी र ११ जना म्यादी प्रहरी खटाईने छ । संबेदनशिल मतदान स्थलमा ३ जना नेपाल प्रहरी र ७ जना म्यादीसहित १० र सामान्यमा ३ जना नेपाल प्रहरी र ५ जना म्यादी प्रहरी गरी ८ जना सुरक्षा कर्मी खटाईने छ । बाहिरी घेराबाट शसस्त्र र आर्मिको सुरक्षा समेत मेत रहने छ । परासी क्षेत्रमा नेपाल प्रहरी ७ सय ७६, म्यादी प्रहरी १ हजार ४३, शसस्त्र प्रहरी ४ सय ३, नेपाल आर्मी ६ सय र अनुसन्धानका २१ जना गरी कुल २ हजार ८ सय ४३ जना सुरक्षाकर्मी परिचालन हुने जिल्ला प्रशासन कार्यालय नवलपरासीले जनाएको छ ।

प्रतिकृया दिनुहोस