News Detail

आजराति १२ बजेबाट मौन अवधि सुरु हुँदै

मंसिर १८, २०७४

प्रतिनिधि तथा प्रदेशसभा दोस्रो चरण निर्वाचनअन्तर्गत आजराति १२ बजेबाट मौन अवधि सुरु हुँदैछ । मौन अवधि सुरु भएपछि निर्वाचन सम्पन्न नभइन्जेलसम्म राजनीतिक दल, उम्मेदवार, सञ्चारमाध्यम, समाजिक सञ्जालसमेतमा पनि प्रचार गर्न पाइने छैनन् । राजनीतिक दल, दलका उम्मेदवार, दलका पदाधिकारी, स्वतन्त्र उम्मेदवार, नागरिक समाज, आममतदाता तथा सञ्चारमाध्यम कुनै पनि प्रकारका चुनावी प्रचारप्रसारमा संलग्न हुन नपाउने निर्वाचन आयोगले जनाएको छ । मतदान हुनुभन्दा अघिल्लो ४८ घण्टादेखि मौन अवधि सुरु हुने निर्वाचन आचारसंहिता तेस्रो संशोधन २०७४ मा उल्लेख छ । आयोगले मौन अवधिभर निर्वाचन आचारसंहिताविपरीत हुने कुनै पनि गतिविधि नगर्न राजनीतिक दल, उम्मेदवार र सञ्चारमाध्यमहरूसँग आग्रह गरेको छ । मौन अवधिमा निर्वाचन प्रचार गर्न तथा मत माग्न नपाइने आयोगका प्रवक्ता नवराज ढकालले बताउनुभयो । मौन अवधि सुरु हुनुभन्दा अघि नै मतदान केन्द्रको ३ सय मिटरवरिपरी राखिएका चुनावी प्रचार सामग्रीसमेत सम्बन्धित उम्मेदवारले हटाउनुपर्ने नियम छ । मौन अवधिमा फेसबुक र ट्वीटरजस्ता सामाजिक सञ्जालबाट समेत चुनावी प्रचार गर्न पाइनेछैन । प्रवक्ता ढकालले एसएमएस, फेसबुक, ट्वीटरजस्ता सामाजिक सञ्जालबाट मत माग्न नपाइने पनि जानकारी दिनुभयो । दोस्रो चरण निर्वाचनमा कुल १ करोड ५४ लाख २७ हजार ९ सय ३५ मतदातामध्ये १ करोड २२ लाख ३५ हजार ९ सय ९० मतदाताले भाग लिने निर्वाचन आयोगका प्रवक्ता ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार २१ मंसिरमा ७ हजार ७ सय ५२ मतदान स्थलका १५ हजार ३ सय ४४ मतदान केन्द्रबाट मतदान गरिँदै छ ।

Related News

प्रतिकृया दिनुहोस