News Detail

म्यानमारको संसदद्धारा नयाँ राष्ट्रपति चयनको प्रक्रिया सुरु

चैत्र ९, २०७४

म्यानमारको संसदले शुक्रबार नयाँ राष्ट्रपति चयनको प्रक्रिया सुरु गर्दैछ । म्यानमारका राष्ट्रपति उ तिन कायले आफ्नो पदबाट राजीनामा दिएपछि म्यानमारमा राष्ट्रपति पद खाली भएको छ । म्यानमारका उपराष्ट्रपतिलाई राष्ट्रपति पदमा उम्मेदवारी दिन मिल्नेगरी प्रक्रिया पूरा गर्ने बताइएको छ । म्यानमारको संसदको तल्लो सदन प्रतिनिधिसभाले हालका उपराष्ट्रपतिमध्येबाट राष्ट्रपतिको उम्मेदवार बन्न पाउनेगरी निर्वाचकमन्डल गठन गर्ने र त्यसको प्रक्रिया पूरा गर्ने बताइएको छ । म्यानमारको संविधानअनुसार राष्ट्रपतिले राजीनामा दिएपछि त्यसको सात दिनभित्र नयाँ राष्ट्रपति चयन गरिसक्नुपर्ने प्रावधान छ । त्यतिन्जेलसम्मका लागि यहाँका वर्तमान उपराष्ट्रपति उ मिन्त स्वेले कार्यबाहक राष्ट्रपतिकारुपमा काम गरेका छन् । म्यानमारका राष्ट्रपति ७२ वर्षीय काय सन् २०१६ मा निर्वाचित भएका थिए । उनले स्वास्थ्यका कारण बुधबार आफ्नो पदबाट राजीनामा दिएका थिए । उनको राजीनामापछि म्यानमारको प्रतिनिधिसभाका सभामुखले पनि राजीनामा दिएका थिए । उनको स्थानमा भने बिहीबार नै संसदले नयाँ सभामुख चयन गरिसकेको छ । म्यानमारको वर्तमान संसद सन् २०१६ को अप्रिल महिनामा निर्वाचित भएको हो । पाँच वर्षका लागि निर्वाचित सो संसदसँगै यहाँको सरकार र संसदका पदाधिकारीहरु पनि पाँच वर्षकै लागि निर्वाचित भएका हुन् । सन् २०१५ को निर्वाचनमा यहाँको प्रमुख राजनीतिक दल नेसनल लिग फर डेमोक्रेसीले अत्यधिक बहुमत प्राप्त गरेको थियो । म्यानमारकी प्रजातन्त्रवादी नेत्री आङ सान सुचीको दलले स्पस्ट बहुमत हासिल गरेपछि यहाँको सरकारले पाँच वर्ष शासन गर्ने अधिकार प्राप्त गरेको छ ।

Related News

प्रतिकृया दिनुहोस