News Detail

बालकृष्ण ढुंगेलसहित ८ सय १६ जना कैदीलाई थुनामुक्त

जेठ १५, २०७५

सरकारले गणतन्त्र दिवसको अवसर पारेर तत्कालिन नेकपा माओवादी केन्द्रका नेता बालकृष्ण ढुंगेलसहित ८ सय १६ जना कैदीलाई थुनामुक्त गरेको छ । ११ औँ गणतन्त्र दिवसको अवसरमा चालचलन असल रहेको भन्दै सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ढुंगेलसहितलाई आममाफी दिनुभएको हो । यससँगै ढुंगेल डिल्लीबजार कारागारबाट मुक्त भएका हुन् । ढुंगेल ओखलढुँगाका उज्जनकुमार श्रेष्ठको हत्यामा सर्वोच्च अदालतले दोषी ठहर गरी जन्मकैद भोगिरहेका ब्यक्ति हुन् । सोमबार राती बसेको मन्त्रीपरिषद बैठकले ढुंगेल सहित आममाफी पाउनेहरुको नाम अनुमोदन गरि राष्ट्रपतिसमक्ष अनुमोदनका लागि सिफारिस गरेको थियो । ढुंगेललाई थुनामुक्त गर्न नहुने भन्दै परेको रिटमा सर्वोच्च अदालतले यसबारेको सक्कल फाइल नै मगाएकै दिन सरकारले ढुँगेललाई माफी दिने निर्णय गरेको हो । व्यक्ति हत्याको अभियोग अदालतले पुष्टि गरेपछि ढुंगेलले आफूविरुद्ध फैसला गर्ने न्यायाधीशलाई भौतिक कारवाही गर्ने अभिव्यक्ति दिएका थिए । ललितपुरको सातदोबाटोमा लुकेर बसेका ढुंगेललाई प्रहरीको कन्द्रीय अनुसन्धान ब्युरो सिआईबीको टोलीले गएको कात्तिक १४ गते फक्राउ गरेको थियो । कारागार व्यवस्था विभागले असल चालचलन भएको भन्दै ढुँगेललाई आम माफी दिन सरकार समक्ष सिफारिस गरेको खबर सार्वजनिक भएपछि अधिवक्ता दिनेश त्रिपाठीले गएको शुक्रबार सर्वोच्चमा त्यसलाई रोकी माग्दै रिट दायर गर्नुभएको थियो । सर्वोच्चले आइतबार त्यसबारे जानकारी दिन सरकारलाई आदेश दियो । सोमबार अदालतले त्यसको सक्कलै फाइल मगाउने निर्णय गर्दै तत्काल कुनै आदेश नगर्दा ढुंगेललाई माफी दिने निर्णय गर्न सरकारलाई सजिलो भएको थियो ।

Related News

प्रतिकृया दिनुहोस