News Detail

३२ सिटसम्ममा बस र १६ टनसम्मका मालबाहक सवारीलाई बिपी राजमार्गमा रुट इजाजत दिने

जेठ १५, २०७५

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बीपी राजमार्गमा १८ सिटसम्मका सार्वजनिक बस मात्रै चलाउन पाउने व्यवस्था उल्ट्याएको छ । अब बिपी राजमार्गमा ३२ सिटसम्मका बस गुड्न पाउनेछन् । यातायात व्यवसायीले बिपी राजमार्गमा ठूला गाडी चलाउन दिन माग गर्दै आएका थिए । व्यवसायीको लामो समयदेखिको इच्छा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले पूरा गरिदिएका छन् । मन्त्रालयको निर्णयअनुसार यो राजमार्गमा १६ टनसम्म (गाडीको वजन) सहितका मालबाहक ट्रक तथा ट्रिपर पनि चल्न पाउनेछन् । यसअघि १० टनसम्मका ट्रक मात्रै यो राजमार्गमा गुड्न पाउँथे । अब यातायात व्यवस्था विभागले ३२ सिटसम्ममा बस र १६ टनसम्मका मालबाहक सवारीलाई यो राजमार्गमा रुट इजाजत दिने यातायात व्यवस्था विभागका प्रवक्ता तुल्सीराम अर्यालले जानकारी दिए । निर्णयमा कुनै कोटा नतोकिएकाले रुट माग्न आएका जति सबैलाई रुट इजाजत दिने तयारी छ । यसले बीपी राजमार्गमा साना गाडीको सिन्डिकेट तोडिने दावी सरकारको छ आजको निर्णयअनुसार बसहरु अब विहान ५ बजेदेखि राति ८ बजेसम्म राजमार्गमा चल्न पाउनेछन् । मालबाहक ट्रकहरु भने रातभर चल्नुपर्ने प्रवक्ता अर्यालले बताए । वीपी राजमार्गमा १८ सिटे सवारी चलाउँदा पनि आवश्यक मर्मत सम्भारको अभावका कारण सडक भासिने र पहिरो खस्ने समस्या छ । यसलाई बेवास्ता गर्दै सरकारले ठूला बस र मालबाहक ट्रकलाई पनि यहाँ गुड्न दिने निर्णय गरेको हो ।

प्रतिकृया दिनुहोस