News Detail

टर्कीको सरकारद्धारा आफ्ना करिब १८ हजार ६३२ कर्मचारीलाई बर्खास्त

आषाढ २४, २०७५

टर्कीको सरकारले आफ्ना करिब १८ हजार ६३२ कर्मचारीलाई बर्खास्त गरेको छ । सरकारले आइतबार एक निर्देशिका जारी गर्दै ती कर्मचारीलाई बर्खास्त गरिएको जनाएको विभिन्न अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । यसरी बर्खास्त हुनेमा सरकारी गैरसैनिक कर्मचारी, सैनिक अधिकारी, प्रहरी र विश्वविद्यालयका प्राध्यापकहरु समेत रहेका बताइएको छ ।

   सरकारले आइतबार आकस्मिक रुपमा एक निर्देशिका जारी गरेर बर्खास्त गरिएकामा नौ हजार जना प्रहरीमात्र रहेका बताइएको छ । बर्खास्त प्रहरीमा अधिकृतस्तरका कर्मचारी धेरै छन् । आतङ्ककारी समूह या संगठनहरुसँग ती कर्मचारीको सम्बन्ध रहेको पाइएको भन्दै ती कर्मचारीलाई बर्खास्त गरिएको हो । बर्खास्त भएकामा ३ हजार ७७ जना सैनिक अधिकारी पनि छन् । ती सैनिकमा १ हजार ९४९ जना हवाई सैनिक र १ हजार १२६ जना जलसैनिक रहेका सरकारका प्रवक्ताले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । यसरी बर्खास्त गरिएकामा १ हजार ५२ जना निजामति कर्मचारी अधिकृत छन् ।

   विश्वविद्यालय र विद्यालयका २०० जना प्राध्यापक र शिक्षक पनि सो सरकारी आदेश अनुसार बर्खास्त हुनेमा परेका बताइएको छ । सन् २०१६ को जुलाई महिनामा टर्कीका राष्ट्रपति रिसेप तैयब एर्दोगानका विरुद्धमा सैनिक विद्रोहको असफल प्रयास भएको थियो । त्यसपछि राष्ट्रपति एर्दोगानले आफ्ना विरोधी मानिएका सेना, प्रहरी, गैरसैनिक कर्मचारी तथा विश्वविद्यालयका प्राध्यापकहरुलाई जेलहाल्ने, सेवाबाट बर्खास्त गर्ने तथा अरु विविध खालको कारबाही गरेका थिए । त्यस यता हालसम्म देशमा सङ्कटकालीन अवस्थाको घोषणा गरिएको छ । यो अवस्थाको कम्तीमा पनि सात पटकसम्म अनुमोदन गरिएको छ । अहिले पनि यहाँ सङ्कटकालीन अवस्था नै छ ।

   जारी सङ्कटकालीन अवस्थाको यही जुलाई १९ मा अन्त्य हुने तालिका छ । तर त्यस अगावै यहाँको सङ्कटकालीन अवस्थाको फाइदा उठाउँदै सरकारले यति ठूलो सङ्ख्यामा कर्मचारीलाई कारबाही र बर्खास्त गरेको समाचार आएको छ । राष्ट्रपति एर्दोगानले आफ्ना विरुद्ध गरिएको यो असफल प्रयासको फाइदा उठाउँदै देशभित्र आफ्ना सबै विरोधीहरुलाई सक्ने अभियान नै चलाएको भन्दै उनको कदमको व्यापक मात्रामा विरोध भएको छ ।

Related News

प्रतिकृया दिनुहोस