News Detail

बारुदी सुरुङ सचेतना तथा माइन एक्सनमा सहायता सम्बन्धि

चैत्र २१, २०७०

चैत २१
बारुदी सुरुङ सचेतना तथा माइन एक्सनमा सहायता सम्बन्धि विश्व दिवस शुक्रबार विभिन्न कार्यक्रम गरी मनाइदैंछ ।बारुदी सुरुङको जोखिमबारे सचेत गराउँदै पीडितप्रति समर्थन र ऐक्यबद्धता जनाउन संयुक्त राष्ट्रसंघको आह्वानमा हरेक वर्ष अप्रिल ४ तारिखका दिन यो दिवस मनाउने गरिन्छ । राष्ट्रसंघले यो वर्ष दिवसका अवसरमा बारुदी धराप हटाउने कामका विभिन्न पक्षमा महिलाको भूमिकामा विशेष जोड दिएको छ । विष्फोटक पदार्थ भएका ठाउँको सर्वेक्षण, त्यस्ता पदार्थ हटाउनुपर्ने प्राथमिक क्षेत्र, जोखिम व्यवस्थापन सम्बन्धि शिक्षा र बारुदी सुरुङ तथा विष्फोटक पदार्थ हटाइसकेपछि विकासको पहलमा महिलालाई सशक्त बनाउनुपर्नेमा राष्ट्रसंघले जोड दिएको छ । नेपालमा सशस्त्र द्वन्द्वकालमा सरकारले सरकारी कार्यालय र सुरक्षा निकायको सुरक्षाका लागि ५३ ठाउँमा बारुदी सुरुङ बिच्छ्याएको थियो । २०६८ साल जेठमा नेपाललाई बारुदी सुरुङ मुक्त क्षेत्र घोषणा गरिएकाले बारुदी सुरुङको जोखिम नभएपनि साना ठूला विष्फोटक पदार्थको जोखिम भने बाँकी नै रहेको शान्ति मन्त्रालयका उपसचिव प्रेमप्रसाद सञ्जेलले बताउनुभयो । द्वन्द्वका बेला घरेलु प्रक्रियाबाट निर्मित बम तथा विष्फोटक पदार्थको प्रशस्त प्रयोग भएपनि ती कहाँ कस्तो अवस्थामा छन् भनेर खोजी गर्नु सरकार सामु चुनौती रहेको उहाँको भनाई छ । त्यस्ता विष्फोटक पदार्थ डिस्पोज नगरे वा कसैले नचलाए १ हजार वर्षसम्म पनि सक्रिय नै हुने भएकाले त्यस्ता पदार्थका बारेमा सबै ठाउँमा जनचेतना नपुग्दा जोखिम घट्न नसकेको सन्जेलले बताउनुभयो ।
 

प्रतिकृया दिनुहोस