News Detail

धौलागिरी बहिरा विद्यालयको उद्घाटन

आषाढ ६, २०७२

राजेशचन्द्र राजभण्डारी
बागलुङ÷असार ६
नेपालकै नमूना विद्यालयको रुपमा परिचित धौलागिरी बहिरा आवासीय माध्यामिक विद्यालयको शिक्षा मन्त्री चित्रलेखा यादवले आइतवार बागलुङमा उद्घाटन गरे ।
सामुदायीक विद्यालयको स्तर घट्दै गएको समयमा फरक क्षमताका विद्यार्थीले अध्ययन गर्ने बहिरा विद्यालय देशकै नमूना विद्यालय बन्नु देशको लागि राम्रो उदाहरण भएको मन्त्री यादवले बताए ।
सरकारले शिक्षा क्षेत्रमा लगानी धेरै गरेपनि सोचे अनुसारको प्रतिफल पाउन नसकेको समयमा देशका केही सामुदायीक विद्यालयले भने राम्रो प्रगती गर्दै गएको यादवले बताए ।
२०६४ सालमा स्थापना भएको धौलागिरी बहिरा विद्यालयले छोटो समयमा आफ्नो सुविधा सम्पन्न भवन १ करोड ७८ लाख १२ हजार २ सय ४६ रुपैयाँ ९० पैसामा ४ तला निर्माण कार्य सम्पन्न भएको छ ।
कक्षा १ देखि १० सम्म १६० जना बहिरा विद्यार्थीले आवासीय सुविधा सहित अध्ययन गरिरहेको विद्यालयमा गतवर्ष देखि कम्प्यूटर इञ्जिनियरिङ विषय समेतको पढाई शुरु गरिएको जानाकारी विद्यालयका संस्थापक सदस्य के.वि.रानामगरले गरेका थिए ।
बागलुङ नगरपालिका वडा नं. १ बाङ्गेचौरमा बहिरा विद्यालय भवन बनाउन रामरेखा सामुदायीक वनले दिएको ४ रोपनी जग्गा भवन निर्माण गर्न शिक्षा मन्त्रालय, जिल्ला शिक्षा कार्यालय, बागलुङ नगरपालिका कार्यालय, संसद विकास कोष, जिल्ला विकास समिति, नगर विकास कोष, नेपाली सेना लगायतले आर्थिक र भौतिक सहयोग प्रदान गरेको राना मगरले बताए ।
जिल्ला शिक्षा अधिकारी विष्णु तिवारी, प्रमुख जिल्ला अधिकारी शेष नारायण पौडेल, नेपाल शिक्षक संगठनका केन्द्रीय सदस्य टिकाराम सापकोटा लगायतका वक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष के.पि. अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य विद्यालयका प्रधानाध्यापक मदुसुधन निउरे, संचालन शिक्षक दिपक गौतमले गरेका थिए ।
 

प्रतिकृया दिनुहोस